
मेचीनगर । झापाको मेचीनगर–६ स्थित बर्मेली टोलमा प्रथम भिम स्मृति नकआउट फुटबल टुर्नामेन्ट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ साल माघ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
टुर्नामेन्टको तयारी तथा जानकारी दिने उद्देश्यले माघ ४ गते आइतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा ८–८ वटा टिमको सहभागिता रहनेछ ।
आयोजकले सार्वजनिक गरेको खर्च विवरणअनुसार प्रतियोगिताको कुल अनुमानित खर्च रु. ७ लाख ९८ हजार ५ सय रहेको छ । खर्चमा प्रथम पुरस्कार ५१ हजार र दोश्रो पुरस्कार ३१ हजार रहेको छ । प्रतियोगितामा रेफ्री शुल्क, मैदान मर्मत, साउण्ड सिस्टम, प्रचार–प्रसार, खेल सामग्री, खेलाडी तथा स्वयंसेवक खर्च, स्टेज निर्माण र विविध व्यवस्थापन शीर्षक समावेश गरिएको छ ।
प्रतियोगिताअन्तर्गत भेट्रानतर्फका प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार, प्लेयर अफ द म्याच जनही १ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलकर्तालाई जनही ३–३ हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार स्व. भीमबहादुर सुब्बाको परिवार तथा दोस्रो पुरस्कार स्वर्गीय रोशन प्रधानको नाममा गणेश प्रधानबाट प्राप्त गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको आयोजना तुर्केनी युवा क्लब, मेचीनगर–६ (बर्मेली टोल), झापाले गर्नेछ भने सह–आयोजकको भूमिकामा तुर्केनी स्पोर्ट क्लब रहनेछ ।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ प्रेरित गर्नुका साथै नेपाल–भारतबीचको मैत्री सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विभिन्न स्थानका चर्चित फुटबल टिमहरूको सहभागिता रहने आयोजक समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।
