१३ चैत्र २०७९, सोमबार,
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ लिन नसकेपछि बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । भैरहवाको लागि उडान भर्न तयार जहाज रनवेबाटै फर्किएको हो । सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो ।
विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमानले २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो । रनवेमा गुडेको विमान टेकअफ हुन नसकेपछि रनवेबाट फर्काइएको प्रवक्ता सिटौलाले जानकारी दिए ।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले विमानमा प्राविधिक समस्या आएको बताए । यात्रुहरुलाई अर्काे विमानको व्यवस्था गरेर भैरहवा पठाइएको उनले बताए ।