– होमराज राई,
नेपालको पहाडी भेगमा जन्मिएकी एक सानो सपना बोकी पढेर केही बन्ने, घर सुधार्ने र भोलिको लागि आशा राख्ने सुन्तली। तर जब त्यो उज्यालो सपना सामाजिक सञ्जालभित्र भुमरीमा फस्यो, त्यही उज्यालोले उसको जीवनलाई अँध्यारोमा पुर्यायो।
सुन्तली (नाम परिवर्तन), वर्ष १७ की किशोरी, पूर्वी नेपालको गाउँबाट सुरु भएको उनको यात्रा कुवेतको एक पाँचौ तल्लाको बन्द कोठामा टुंगिएको छ । जहाँ न आकाश देखिन्छ, न त घाम, घर सम्झेर आफै रुने अनि आफै शान्त हुने ।
मायाको झूटो जाल
सुन्तलीले २०२४ को प्रारम्भतिर, घरको पुरानो मोबाइलमा फेसबुक चलाउन सिकिन्। केही महिना नबित्दै उनको ‘फ्रेन्ड रिक्वेस्ट’ मा एक अनजान नाम देखियो—“प्रकाश ”। तस्बिर आकर्षक, बोली मिठो, र सन्देशहरूमा प्रेमको सुगन्ध।
सुरुमा लाजले जवाफ दिन नसक्ने सुन्तली, बिस्तारै प्रकाशसँग खुलेर कुरा गर्न थालिन्। महिनौंसम्म दैनिक म्यासेज, भिडियो कल, र “तिमी बिना म बाँच्दिन” भन्ने वाक्यहरू।
“तिमीसँग बिहे गर्छु। भारत आऊ, अनि हामी सँगै नेपाल फर्कौंला प्रकाशले भने ।”
आमा-बुबाको घरमा भावनात्मक सपोर्ट खोजिरहेकी किशोरीका लागि त्यो प्रस्ताव अध्यारोभित्रको मायाको दियो सल्किन पुग्यो ।
भारत प्रवेश: प्रेमबाट तस्करीसम्म
सुन्तलीले परिवारलाई “काठमाडौँमा साथीकोमा जान्छु” भन्दै बिदा लिइन्। तर काठमाडौँमा रोकिएकी थिइनन्—उनलाई सीधै सीमाबाट भारत लैजाने योजना पहिल्यै बनेको रहेछ।
भारतमा केही दिन होटलमा राखेपछि भनियो, “कामको कागजपत्र बनाउन मुम्बई जानुपर्छ।” त्यसपछि सुन्तली प्रकाशसँग कहिल्यै भेटिनन्।
कुवेत: पर्खालभित्रको कैद
कुवेत पुगेपछि उनले थाहा पाइन्—आफू घरेलु कामदारका रूपमा एउटा परिवारमा बेचिएकी रहेछिन्। पाँचौं तल्लाको अपार्टमेन्टमा उनी दिनरात खटिन बाध्य थिइन्। एकदिन साहुनीलाई आफू घर फर्किन चाहन्छु भनेकी थिइन्। जवाफ आयो ,
“ मैले तिमीलाई तीन लाख रुपैयाँमा किनें। नेपाल जान चाहन्छेस् भने तीन लाख दिनुपर्छ।”
त्यसपछि सुन्तली छाँगाबाट झरेझै भयो ।अब उनको लागि “घर” भन्ने शब्द नै टाढिएको थियो।
भ्वाइस मेसेज: बाँच्न मागिएको भिक्षा
लुकेर मोबाइल चलाउने मौका पाइन्। नेपालमा मानव बेचबिखनविरुद्ध कार्यरत संस्था का एक सामाजिक कार्यकर्तालाई मेसेज गरिन्।
भ्वाइस मेसेज यस्तो थियो—
“दाइ, म अब ३ महिनाभित्र नेपाल आउन सकिन भने म मर्छु। मलाई बचाइदिनुहोस्।”
तर जब संस्थाले सोध्यो—“कसरी पुग्यौ? को थियो त्यो मान्छे?”
उनी चुप भइन्। त्यो फेसबुक आइडी नक्कली थियो। न नागरिकता, न ठेगाना, केही थिएन उसको पहिचानमा।
निष्कर्ष: चेतावनी र जिम्मेवारी
नेपालमा दैनिकजसो किशोरीहरू यस्तो जालोमा पर्न थालेका छन्। सामाजिक सञ्जालले सम्पर्क सजिलो बनाएको छ, तर नियन्त्रण र सुरक्षा चुक्दा यो मानव बेचबिखनको आधुनिक माध्यम बनेको छ।
- अभिभावकले बालबालिकाको डिजिटल गतिविधि अनुगमन गर्नुपर्छ।
- विद्यालयमा साइबर सुरक्षा र मानव तस्करीबारे शिक्षा अनिवार्य हुनुपर्छ।
- सरकार र एनजिओहरूले संयुक्त रूपमा उद्धार प्रक्रिया छिटो र प्रभावकारी बनाउनुपर्छ।
- “कति किशोरी अझै पनि नक्कली प्रेमको नाममा बेचिंदै छन् ?”
