किशोर कुमार सार्की,
मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो ।

ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले फाइनलमा आयोजक काँकरभिट्टा फुटबल टे्रनिङ सेन्टरलाई १–० ले हराउँदै उपाधि जितेको थियो । उपविजेता मेचीनगरको आयोजक टिम बनेको थियो । यो संस्करण ६ वर्षपछि पुनः सञ्चालन गरिएको र मेचीनगर नगरपालिकाले रु २५ लाख सहयोग गरेको थियो ।
राष्ट्रपति रनिङ शिल्डः विद्यालयस्तर प्रतियोगिता
पुस ३ मा बाहुनडाँगीमा सम्पन्न पाँचौं “राष्ट्रपति रनिङ शिल्ड” ले मेचीनगरको ग्रामीण–शैक्षिक क्षेत्रमा खेलकुदको उत्साह निर्माण गरेको छ । ५० वटा विद्यालयका ११० विद्यार्थीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरे । नगरभित्रका खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र मेचीनगरका विभिन्न विधाका खेलाडीहरुलाई खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने प्रतियोगिताको उद्देश्य रहेको थियो । छनोटका आधारमा खेलाडीले स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिनिधित्वका अवसरहरु प्राप्त गरे ।
नगरपालिकाद्वारा नगरभित्र रहेका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न स्पोर्टस मेनिया समेत सञ्चालन गरिरहेको छ । साथै, मेचीनगरमा क्रियाशिल खेलकुद क्लबहरुद्वारा सञ्चालन गरिएको च्यालेन्ज कप लगायतका प्रतियोगिताहरूको माध्यमबाट खेलकुदलाई प्रमुख प्राथमिकतामा राखेको देखिन्छ । युवा, महिला र ग्रामीण प्रतिभा प्रस्फुटन गर्ने वातावरण सिर्जना गरेको छ । आगामी दिनमा दीर्घकालीन संरचना, नियमित प्रशिक्षण कार्यक्रम, निगरानी प्रणाली र साझेदारी सुदृढ गर्ने हो भने मेचीनगरले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सक्छ ।
दीर्घकालीन रुपमा खेलकुद क्षेत्रको विकास गर्न पूर्वाधार, प्रशिक्षण, मैदान, उपकरण र कोचिङ सुविधामा सुधार आवश्यक छ । निजी–सरकारी साझेदारी संस्थागत नभएकाले बजेट र व्यवस्थापन अस्थायी यसको चुनौति रहेको छ । अनुगमन, तालिम र संरचनात्मक सञ्चालन अझ व्यवस्थित हुनुपर्छ ।
त्यसैगरी, २०८२ असार ५ देखि ९ गतेसम्म मेचीनगर खेलकुद बिकास समितिको आयोजना मा यू–१६ अन्तरपालिका प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गर्यो । फाइनल खेलमा मेचीनगरलाई हराउँदै सुनसरीको इनरुवा नगरपालिका बिजयी भएको थियो ।
त्यसैगरी, मेचीनगर नगर खेलकुद विकास समितिको आयोजनामा प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न भएको थियो । फाइनल खेलमा ब्राइट फ्युचर मोरङ विजेता बन्दा आयोजक उपविजेता बनेको थियो ।
अघिल्लो आर्थिक वर्षमा समेत मेचीनगर नगरपालिकामा खेलकुदको महाकुम्भ मेचीनगर नगर ओलम्पिक सम्पन्न भएको थियो । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखि शुरु भएको प्रतियोगितामा विभिन्न विधामा नगरस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएका थिए । मेचीनगर–१० च्याम्पियन बनेको थियो । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनियामा १६ स्वर्णसहित च्याम्पियन बनेको हो ।
वडा नम्बर १० ले प्रतियोगितामा १६ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेर विजेता बनेको थियो । यसैगरी, प्रतियोगितामा मेचीनगर–६ ले ९ स्वर्णसहित दोस्रो बनेको छ । उसले ९ स्वर्ण, १० रजत र १० कास्य पदक प्राप्त गरेको थियो ।
त्यस्तै, मेचीनगर–९ र मेचीनगर–११ समान ८ स्वर्णसहित तेस्रो भएको थियो । वडा नम्बर ९ ले ८ स्वर्ण, ११ रजत र ५ कास्य तथा वडा नम्बर ११ ले ८ स्वर्ण, ५ रजत र ९ कास्य पदक प्राप्त गरेको थियो ।
प्रतियोगितामा मेचीनगर–७ ले ६ स्वर्ण, ६ रजत र २ कास्य, मेचीनगर–१४ ले ६ स्वर्ण, ५ रजत र २० कास्य, मेचीनगर–८ ले ४ स्वर्ण, ३ रजत र २ कास्य, मेचीनगर–३ ले ३ स्वर्ण, ३ रजत र १० कास्य पदक हात पारेको थियो ।
यस्तै, मेचीनगर–१२ ले ३ स्वर्ण, २ रजत र २ कास्य, मेचीनगर–१५ ले ३ स्वर्ण, ८ रजत र ६ कास्य, मेचीनगर–३ ले एउटा स्वर्ण, ८ रजत र १० कास्य, मेचीनगर–२ ले ३ रजत पदक प्राप्त गर्यो भने मेचीनगर–५ र १३ नम्बर वडा पदकविहीन भएका थिए । गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स र चेस खेलमा प्रतिष्पर्धा भएको थियो ।

यसरी हेर्दा मेचीनगर नगरपालिकाले खेलकुदको विकासमा लगानी गरे अनुरुप उपलब्धि हासिल भएको छ । तर, यत्तिले मात्रै पुग्दैन । नगरलाई विश्वसामु चिनाउने खेलकुद जगतको विकासमा अरु बढी लगानी गरेर खेलाडीलाई यही क्षेत्रमा सम्भावना छ भन्ने खालको वातावरण बनाउन नगरपालिकाले भूमिका खेल्नुपर्दछ । खेलाडीलाई आत्मसम्मानका साथ सम्भावनाका ढोका खोलिदिने योजना तथा कार्यक्रम ल्याएर मेचीनगरलाई खेलकुदको माध्यमबाट विश्वसामु चिनाउन सकिन्छ ।