२३ श्रावण २०८२, शुक्रबार,
झापा । भारतका विभिन्न स्थानबाट हराएका चार जना नेपाली बालबालिकाको उद्धार गरी नेपाल ल्याइएको छ।
धम्पालथान गाउँपालिका–७, मारेङ कमलपुरका १४ वर्षीय सर्बेन्द्र सिंह नुनिया भारतको फरबिसगञ्जस्थित मामाघरमा आफन्तको विवाहमा जन्ती जान गएका थिए। कलकत्तातर्फ जाने गाडिमा सुतिरहेको अवस्थामा हराएका उनी पाँच महिना पछि भारतको सिनी, कलकत्ताले फेला परे। उनलाई नव अभियान नेपालको समन्वय र नेपाल प्रहरी काँकरभिट्टाको सहयोगमा काँकरभिट्टामा उनका अभिभावक बलराम कुमारसिंह नुनियालाई बुझाइएको हो।
भोजपुर, दोभाने मातेल–५ की १६ वर्षीया सम्निमा राई घरबाट हराएको १६ दिनपछि जलपाईगुडीस्थित बालिकाहरुको लागि निजलोय गृहको सहयोगमा उद्धार गरिएको छ।
आफन्तको सल्लाहबिना होटेलमा काम लगाइदिने बहानामा भारत पुर्याइएकी एक नेपाली चेलीलाई उद्धार गरिएको छ। उद्धारपछि उनलाई सुरक्षित रूपमा काकाको जिम्मामा पठाइएको छ।
पीडितका अनुसार, उनकी आमा सानैमा बितेकी थिइन् भने बाबु विदेशमा गएको भनिए पनि लामो समयदेखि सम्पर्क बिहीन छन्।
उद्धारपछि पीडितलाई आवश्यक स्वास्थ्य परीक्षण, सामाजिक परामर्श तथा संरक्षण सुविधा प्रदान गरिएको छ। सम्बन्धित संस्थाले उनलाई काका राजपाल राई को जिम्मा लगाएको हो।
सुरक्षा निकायका अनुसार घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइने छ।
झापा, सिमलबारीकी १४ वर्षीया दिपिका मण्डल दुई महिना पछि भारतको उत्तर दिनाजपुरस्थित सीएनसीपी गर्ल्स होमको सहयोगमा उद्धार भइन्। उनले एक युवकसँग विवाह गरेर भारतमा बस्ने उद्देश्यले घर छोडेको बताइएको छ।
त्यसैगरी, १६ वर्षीया बिपना बिकलाई पश्चिम मेदिनीपुरस्थित प्रबुद्ध भारती, शिशुतीर्थको सहयोगबाट उद्धार गरिएको हो।
नव अभियान नेपाल शाखा कार्यालयका प्रमुख इन्द्रकुमार बस्नेतका अनुसार, उद्धार गरिएका चारै बालबालिकालाई नेपाल प्रहरीको समन्वयमा आफन्तको जिम्मामा बुझाइएको छ।
