काठमाडौं । नेपालले मलेसियासँगको टी २० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । चौथो खेल जितेर २–२ बराबरीमा पुगेको नेपाली महिला टोलीले पाँचौं तथा अन्तिम खेल जितेर सिरिज हासिल गरेको हो ।
बुधबार भएको निर्णायक खेल नेपालले ५ विकेटले जितेको थियो ।
घरेलु टोली मलेसियाले दिएको १ सय ४ रनको सामान्य लक्ष्य नेपालले ५ विकेट गुमाएर १८ औं ओभरमा प्राप्त गरेको थियो । टोलीका लागि ओपनर रुबी पोद्दारले सर्वाधिक २६ रन जोडिन् । यस्तै, पूजा महतोले २४ रन र कविता कुँवरले १४ रन बनाएका थिए ।
तर, ओपनर सम्झना कुमारी खड्का १३ रनमै आउट भइन् भने कप्तान इन्दु बर्माले मात्र ८ रन बनाइन् । यस्तै, पूर्व कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान दिएकी थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । विनिफ्रेड दुरासिंगमले टोलीका लागि सर्वाधिक ४० रन बनाइन् । नेपालका लागि राजमति ऐरी र कविता कुँवरले समान ३ र रचनाकुमारी चौधरीले १ विकेट लिए ।
यस सिरिजमा नेपाल दुई पटक पछि परेको थियो । मलेसियाले पहिलो खेल जित्दा नेपाल १–० ले पछि परेको थियो । यसपछि दोस्रो खेल जितेर नेपालले सिरिज १–१ बराबरी गरेको थियो । तेस्रो खेलमा मलेसिया जित्दा नेपाल फेरि एकपटक सिरिजमा पछि प¥यो ।
इन्दु वर्माले यसै सिरिजअन्तर्गत चौथो खेलमा व्यक्तिगत १ हजार रन पूरा गरिन् । योसँगैं उनी टी २० अन्तर्राष्ट्रियमा नेपालको तर्फबाट १ हजार रन पूरा गर्ने पहिलो महिला खेलाडी बनिन् ।
उनले ७७ खेलमा यो उपलब्धि हासिल गरेकी हुन् । यस्तै, सीता रानामगर पनि १ हजार रन नजिक छिन् । उनले ९ सय ६५ रन बनाएकी छन् ।