
१० पुष २०८२, बिहीबार,
मेचीनगर । येशू ख्रीष्टको जन्मोत्सव तथा ख्रीष्टमसको अवसरमा कृपा फ्री मेथोडिस्ट चर्च, काँकरभिट्टाले भव्य तथा सभ्य रूपमा ख्रीष्टमस कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख वक्ता रेभ. शमूएल तामाङले मानवजातिको पापबाट उद्धार, प्रेम र भलाइका लागि येशू ख्रीष्ट पृथ्वीमा आउनुभएको बताउनुभयो। उहाँले ख्रीष्टमस भनेको येशूले सिकाउनुभएको असल शिक्षालाई व्यवहारमा उतार्नका लागि मनाइने पर्व भएको उल्लेख गर्दै आफूलाई जस्तै छिमेकीलाई प्रेम गर्नुपर्ने सन्देश दिनुभयो।

कार्यक्रमको पहिलो सत्र आराधना संगति डिकन होमराज राईले सञ्चालन गर्नुभएको थियो भने ख्रीष्टमस विशेष कार्यक्रमको अगुवा हेमकुमार मगरले गर्नुभएको थियो। सो अवसरमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई सम्मान तथा उपहार वितरण गरिएको थियो।


ज्येष्ठ नागरिक सम्मान तथा उपहार वितरण डिकन डिबी रानाले गर्नुभएको थियो। एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई गुरुआमा लिली तामाङ र अगुवा दिलु मुखियाको अगुवाइमा सम्मान तथा उपहार प्रदान गरिएको थियो। बालबालिकालाई बाल शिक्षिका तृषा गुरुङले उपहार वितरण कार्यक्रम गर्नुभएको थियो।


ख्रीष्टमस विशेष कार्यक्रममा युवा समूहबाट आशिषमय भजन, बाल संगतिका नानीहरूबाट नृत्य, आमा–दिदीबहिनी संगतिबाट ख्रीष्टमस गीत, बालबालिकाबाट इसारा भजन तथा युवा र बाल समूहबाट विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।



कार्यक्रमले समुदायमा आपसी प्रेम, सद्भाव र सामाजिक उत्तरदायित्वको सन्देश फैलाएको सहभागीहरूको भनाइ थियो।








