एजेन्सी।
गाजा पट्टीको दक्षिणी सहर खान युनिसमा रातभर भएको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गएको छ।
एसोसिएटेड प्रेसका एक स्थानीय पत्रकारका अनुसार सहरमा रातभर १० भन्दा बढी हवाई आक्रमण भएका थिए।
अस्पतालको शवगृहमा ल्याइएका धेरै शव पहिचान गर्न कठिन अवस्थामा रहेका छन्। केही शव टुक्रा–टुक्रा अवस्थामा फेला परेका थिए भने केही बोरामा राखिएका अवशेष मात्र थिए।
यो आक्रमण इजरायलद्वारा बुधबार गरिएको व्यापक सैन्य कारबाहीको निरन्तरता थियो, जसमा करिब दुई दर्जन बालबालिकासहित ७० जनाको मृत्यु भएको थियो। पछिल्ला दिनहरूमा गाजा क्षेत्रमा हिंसात्मक घटना तीव्र बन्दै गएको छ, र मानवीय संकट झनै गहिरिँदै गएको छ।
यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणकै बीचमा भएको हो।
यद्यपि ट्रम्पले इजरायल भ्रमण गर्ने कार्यक्रम नराखेपनि खाडी मुलुकहरूसँगको भेटवार्ताले क्षेत्रीय संकट समाधानका लागि कूटनीतिक प्रयासको आशा जगाएको थियो।
गाजामाथिको इजरायली नाकाबन्दी अहिले तेस्रो महिनामा प्रवेश गरिसकेको छ, जसले खाद्य, औषधि र अन्य अत्यावश्यक सेवाको अभाव निम्त्याएको छ।
अन्तर्राष्ट्रिय समुदायले गाजामा मानवीय सहायता सुनिश्चित गर्न र स्थायी युद्धविरामको पहल गर्न अपिल गर्दै आएको छ।