मेचीनगर । मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित झापा, असार ६ – मेची इलाका इसाई समाजले नयाँ कार्यसमिति गठन गरेको छ। मेचीनगर–१०, धुलाबारीस्थित नेपाल ख्रीष्टियन रिभाइबल चर्चमा सम्पन्न भेलाले पास्टर भरत दाहालको अध्यक्षतामा पाँच सदस्यीय ‘मेजर फाइव’ समिति चयन गरेको हो।
नवगठित समितिमा जयबहादुर कार्कीढाेली उपाध्यक्ष, छत्रबहादुर राई (होमराज) सचिव, मात्रिका गुरुङ सहसचिव चयन भएका छन्। समितिले अन्य सदस्यहरू विभिन्न मण्डलीलाई समेट्दै पूर्णता दिने जनाएको छ। कार्यसमिति चयन कार्य निर्वाचन समितिको संयोजक रेभ. एनोस गजमेरको नेतृत्वमा सम्पन्न भएको हो।
समितिमा सदस्यहरूमा रेभ. गोपाल खनाल, एल्डर रमेश गुरुङ तथा सल्लाहकारहरूमा पास्टर रामकुमार थापा र रेभ. फादर दशरथ खडिया रहेका थिए।
करीब ३० वर्षदेखि सञ्चालनमा रहेको मेचीनगर इसाई समाज कानुनी रूपमा जिल्ला प्रशासन कार्यालयमा पास्टर राजु खड्काको कार्यकालमा दर्ता भएको थियो। त्यसपछि जेठ १६ गते बसेको विस्तारित बैठकले कार्यसमिति पुनर्गठनका लागि निर्वाचन समिति गठन गर्दै पुरानो समिति विघटन गरेको थियो।

निर्वाचन समितिको सक्रियतामा मेचीनगरभित्र रहेका तीन इसाई समाजहरूको एकीकरण गरी मेचीनगर इसाई समाज बनाइएको छ। यस समाजले मेचीनगरका सबै १५ वडालाई समेट्ने उद्देश्य लिएको छ। यसरी एकीकृत समाजमा ‘मेची इलाका इसाई समाज’ नामबाट पास्टर भरत दाहालको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो।
साथै, आगामी असार १६ गते हुने मेचीनगर इसाई समाजको साधारणसभा तथा निर्वाचनका लागि अध्यक्षका उम्मेदवारको रूपमा पास्टर राजु खड्का, रेभ. शमुएल तामाङ र पास्टर यादव पौडेलबीच मतदान गरिएको थियो। भोटिङ प्रक्रियामा पास्टर राजु खड्का विजयी हुँदै आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि सिफारिस भएका छन्।
कोषाध्यक्षका रूपमा तबिता गुरुङलाई सहमतिको आधारमा चयन गरिएको छ।