– होमराज राई,
समय अनुसार नेतृत्वको परिभाषा परिवर्तन हुँदै गएको छ। नेतृत्व केवल पद र अधिकार होइन, त्यो दायित्व, दृष्टिकोण र प्रेरणाको विषय हो। परम्परागत दृष्टिमा नेता भनेको आदेश दिने, नियन्त्रण गर्ने व्यक्ति मानिन्थ्यो,– शक्ति र अधिकारमा आधारित। तर आधुनिक युगमा, नेतृत्वको नयाँ परिभाषा उदाउँदै छ ,– सेवा, नम्रता, र सहकार्यमा आधारित नेतृत्व। आजको प्रश्न हो: सफल नेतृत्व शक्ति हो कि सेवा ?
नेतृत्व के हो ?
नेतृत्व भन्नाले कुनै व्यक्ति वा समूहले अरूलाई मार्गदर्शन, उत्प्रेरणा र समर्थन दिँदै साझा उद्देश्यतर्फ अग्रसर गराउने प्रक्रिया हो। यो केवल आदेश दिने वा नियन्त्रण गर्ने अभ्यास होइन, बरु दूरदृष्टि, उत्तरदायित्व, सहकार्य, र आदर्श व्यवहारको संयोजन हो।
साँचो नेता भनेको केवल “हुकुम दिने” होइन, आफैंले उदाहरण प्रस्तुत गर्ने व्यक्ति हो। उनी चुनौतीहरूको सामना गर्छन्, निर्णय लिन्छन्, र अरूलाई पनि निर्णय लिने सामर्थ्य प्रदान गर्छन्।
नेतृत्वको सार दिशा देखाउनु मात्र होइन, त्यो यात्रामा साथ दिनु हो।
सफल नेतृत्वमा निम्न विशेषताहरू देखिन्छन्:
- स्पष्ट दृष्टिकोण (Vision)
- प्रेरणा दिने क्षमता (Motivation)
- आत्मविश्वास र विनम्रता
- अरूको सुन्ने र बुझ्ने चाहना
- निर्णय र कार्यान्वयनको सामर्थ्य
यसैले नेतृत्व भनेको केवल पद वा शक्ति होइन, जिम्मेवारी र सेवा भावनासँग जोडिएको एउटा चेतनशील अभ्यास हो।

शक्ति (प्रशासकीय अधिकार) मा आधारित नेतृत्व
शक्तिमा आधारित नेतृत्व शैलीमा नेता (अगुवा) ले आफ्नो पद, नियम, र कानुनी अधिकारको बलमा संगठन सञ्चालन गर्छ। यस्तो नेतृत्वमा निर्णय एकलरूपमा लिइन्छ, निर्देशन शीर्ष तहबाट तलतर्फ जान्छ, र कार्यान्वयनमा अनुशासन तथा तीव्रता देखिन्छ। यसले आपतकालीन अवस्था वा संकटको समयमा तत्काल निर्णय लिन सजिलो बनाउँछ, र संगठनमा स्पष्ट संरचना तथा नियन्त्रण कायम रहन्छ।
तर, यो शैलीको एक महत्वपूर्ण कमजोरी पनि छ,–नेता–कर्मचारी सम्बन्ध आदेशदायी र एकतर्फी हुन्छ। यस्तो अवस्थामा अधीनस्थहरू केवल “आज्ञाकारी कार्यकर्ता” बन्न सक्छन्, “उत्तरदायी सहभागी” बन्ने अवसर गुमाउँछन्। डर, दबाब र कठोर नियन्त्रणमा आधारित वातावरणले सिर्जनशीलता, नवप्रवर्तन, र आत्मीय कार्यसंस्कृति कमजोर बनाउँछ।
यसकारण, शक्तिमा आधारित नेतृत्व तत्कालिक नियन्त्रणका लागि प्रभावकारी भए पनि दीर्घकालीन प्रेरणा र सहभागिताको वातावरण निर्माणमा असफल हुन सक्छ।
सेवा (नम्रता) मा आधारित नेतृत्व
सेवामुखी नेतृत्वमा नेता (अगुवा) आफूलाई “प्रमुख” होइन, “सेवक” ठान्दछ। उसले टिमका सदस्यहरूका भावनाहरू सुन्छ, उनीहरूका विचारलाई सम्मान गर्छ, र सबैको सहभागितामा आधारित सहकार्यपूर्ण वातावरण निर्माण गर्छ। यस्तो नेतृत्व शैलीले कार्यक्षेत्रमा भरोसा, आत्मबल, र दीर्घकालीन प्रेरणा उत्पन्न गर्छ।
नम्रता र सेवा भावनाबाट प्रेरित नेता (अगुवा) आत्मकेन्द्रित हुँदैन। उनी सधैं सिक्न तयार हुन्छन्, आफ्ना कमजोरीहरू स्वीकृति गर्छन्, र अरूलाई पनि अगाडि बढ्न प्रोत्साहन गर्छन्। यस्तो नेतृत्व मानव केन्द्रित हुन्छ, जहाँ कर्मचारी केवल कार्यकर्ता होइन, संगठनको अभिन्न अंग ठानिन्छ।
सेवामुखी नेतृत्वले टिममा अपनत्वको भावना जगाउँछ, जुन सिर्जनशीलता, उत्तरदायित्व, र समर्पण जस्ता गुणहरूलाई प्रस्फुटित गर्छ। यस्तो नेता (अगुवा) केवल मार्गदर्शक होइन, सहयात्री पनि हुन्छ।
शक्ति र सेवाको सन्तुलन
केवल शक्ति प्रयोग गरेर दीर्घकालीन सफलता पाउन सकिँदैन। त्यस्तै, केवल सेवा भावले पनि कहिलेकाहीं दृढ निर्णय लिन नसक्ने स्थिति आउन सक्छ। सफल नेतृत्वको खोजीमा शक्ति र सेवाको सन्तुलन नै सबैभन्दा महत्वपूर्ण पक्ष हो।
एक असल नेता त्यो हो, जसले आवश्यक परेको बेला सामुहिकहितका लागि शक्ति प्रयोग गर्छ, तर ब्यक्तिगतहितका लागि शक्तिप्रयोग गर्छभने त्यो ब्यक्ति स्वार्थी भनेर बुझ्नुपर्दछ । सामान्य अवस्थामा नम्रता र सहकार्यलाई प्राथमिकता दिन्छ। सच्चा नेतृत्व भन्नाले सही समय, सही ढंग र सही मनोवृत्तिमा आधारित निर्णय लिनु हो।
सफल नेतृत्व शक्ति हो कि सेवा ?,– यसको उत्तर सरल छैन, तर स्पष्ट छ शक्ति र सेवा दुवै आवश्यक छन्, तर सेवा चेतना भएको शक्ति नै असल नेतृत्व हो। नेता केवल शासक होइन, मार्गदर्शक र प्रेरक हुनु पर्छ। शक्ति र सेवाको सन्तुलनमा आधारित नेतृत्वले नै संगठनलाई समृद्धि, स्थायित्व र मानवता दिन सक्छ।।
