
मेचीनगर–१३, झापा |
झापाको मेचीनगर–१३ स्थित ग्रेस बप्तिस मण्डलीले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका धार्मिक अगुवा, विभिन्न नगर तथा इलाकाका समाजका अध्यक्षहरू, विभिन्न चर्चका पास्टरहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय र भव्य सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सुरुआत रेभ. मकर बहादुर लावतीले प्रार्थनाबाट गर्नुभएको थियो। स्मारक अनावरण प्रमुख अतिथि सेवक रेभ. देवानन्द कडरिया (महासचिव, एन.बि.सप.सी., काठमाडौं) तथा मेचीनगर उपप्रमुख मीना उप्रेतीले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहमा रेभ. पा. दिलिप घतानी, प्रमुख वक्ता रेभ. दानियल सुब्बालगायतको उपस्थितिमा रिबन काटेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो।
प्रमुख वक्ता रेभ. दानियल सुब्बाले २५औँ वार्षिकोत्सवलाई “धन्यवाद र कृतज्ञताको उत्सव”का रूपमा व्याख्या गर्दै परमेश्वरको सहायता र पवित्र आत्माको शक्तिबाट २५ वर्षको यात्रा सम्भव भएको उल्लेख गर्नुभयो। उहाँले यस उत्सवले परमेश्वरको महिमा प्रकट भएको धारणा व्यक्त गर्नुभयो।

शुभकामना मन्तव्य दिँदै मेचीनगर उपप्रमुख मीना उप्रेतीले समाज हिंसा र द्वन्द्वतर्फ उन्मुख भइरहेका बेला आध्यात्मिक सेवाले एकता, सद्भाव र समृद्धितर्फ मार्गनिर्देशन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्मारिका विमोचन प्रमुख वक्ता रेभ. दानियल सुब्बाबाट सम्पन्न भएको थियो। मेचीनगर–१३ का वडा अध्यक्ष कृष्णाराज सिग्देल तथा ग्रेस फेमिली फाउन्डेसनका अध्यक्ष रेभ. जोसुवा जेलेनले शुभकामना मन्तव्य राख्नुभएको थियो।

रजत महोत्सवको अवसरमा सिक्किम (भारत)बाट आएका अतिथि गायक एल.बी. बराइलीसहित प्रज्वल रम्तेल, विज्ञान बराइली र सन्तोष बराइलीले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। स्थानीय मण्डलीद्वारा जुब्ली गीत, नागाल्याण्ड टोलीको विशेष भजन, आमा संगतिको नृत्य, युवा झुन्डको स्तुति–प्रशंसा तथा क्वायर समूहको भजनले कार्यक्रमलाई आध्यात्मिक तथा सांगीतिक रूपमा समृद्ध बनाएको थियो।
बाइबल पाठ डिकनेस वर्षा शंकरले नेपाली भाषामा तथा पास्टर निशान मगरले अंग्रेजी भाषामा गर्नुभएको थियो।

२५ वर्षसम्म विभिन्न चुनौतीहरू पार गर्दै मण्डलीको नेतृत्व तथा सेवा पुर्याएको भन्दै प्रमुख वक्ता रेभ. दानियल सुब्बाले स्थानीय मण्डलीका रेभ. पास्टर दिलिप घतानीलाई सम्मान गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा रेभ. दिलिप घतानीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन डिकन रत्नबहादुर लिम्बू र सह–पास्टर उद्वव बराइलीले गर्नुभएको थियो।


रजत महोत्सव समारोहले ग्रेस बप्तिस मण्डलीको २५ वर्षे आध्यात्मिक यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ समर्पित र सशक्त सेवाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।





