काँकरभिट्टा । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं रास्ट्रिय दिवसको अवसरमा काँकरभिट्टामा विविध कार्यक्रम सम्पन्न भएको छ ।
कारितास नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाको संयोजन र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा मानव बेचबिखन बिरुद्धको अभियान सञ्चालन गर्दै आएका क्रियाशील नौ वटा गैरसरकारी संस्थालाई जिल्ला प्रशासन कार्यालय झापाले सम्मान गरेको छ ।

सम्मानीत हुनुहुनेमा मााइती नेपाल, कारितास नेपाल, एबीसी नेपाल, शक्ति समूह, विश्व सेवा विस्तार, साहसी महिला नेपाल, साना हातहरु नेपाल, आफन्त नेपाल र मानवाधिकारका लागि एकल महिला समूहलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं दिवसको अवसर पारेर आज काँकरभिट्टामा सम्मान गरिएको हो ।

कोशी प्रदेश सभाकी सांसद् सबिना बजगाई र सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले संस्थाका प्रतिनिधिहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको छ ।

कार्यक्रममा कोशी प्रदेश सभाकी सांसद् सबिना बजगाई, सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारती, माइती नेपालका कोशी संयोजक गोविन्द घिमिरे, युवा नेतृ उमा शिवाकोटी, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारी, कारितास नेपालका कार्यक्रम संयोजक हिमालय अधिकारीले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा अधिकांश बक्ताहरुले गरीबी, बेरोजगारी र अशिक्षाका कारण प्रलोभनमापरी नेपालमा मानव बेचबिखन घटना बढ्दै गएको बताएका छन् । कोभिडपछि नेपालमा देखा परेको आर्थिक मन्दीका कारण रोजगारीको अवसर खोज्दै बैदेशिक रोजगारीका क्रममा पुगेकामध्ये ८० प्रतिशत महिला बेचबिखनको सिकार बनेको कार्यक्रममा सरोकारवाला निकायले आफ्नो परिपत्रमा उल्लेख गरेका छन् ।
महिला तथा बालबालिकालाई प्रयोग गर्न नक्कली भिषा, आधारकार्ड बनाएर भारतका विभिन्न ठाउँमा केन्द्र बनाएको र अन्य मुलुकमा बेचबिखन गर्दै आएको पाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको अध्यक्षता र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलको उद्घोषणमा भएको सो कार्यक्रममा परिवर्तन थिएटरले उक्त ‘सानुको सपना’ नामक कचहरी नाटक मञ्चन गरेको थियो ।

